काठमाडौं । नेपाल राष्ट्र बैंकले अबैध वित्तीय कारोबारमा संलग्न भएको प्रमाणित भएपछि दुई भुक्तानी सेवा प्रदायक कम्पनीको इजाजत पत्र खारेज गरेको छ। राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको इजाजत पत्र रद्द गरेको हो।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा २(च) बमोजिम इजाजत पत्र रद्द गरिएको जनाएको छ। अब यी कम्पनीहरूले कुनै प्रकारको भुक्तानी सेवा वैधानिक रूपमा सञ्चालन गर्न पाउने छैनन्।
छानबिनका क्रममा यी कम्पनीहरूले डिजिटल वालेटको दुरुपयोग गरी एक स्थानबाट रकम लोड गरेर अर्को स्थानमा अनधिकृत रूपमा भुक्तानी गरेको पाइएको छ। कम्पनीका एजेन्टहरू सो गतिविधिमा प्रत्यक्ष संलग्न रहेको प्रमाणसमेत फेला परेको छ।
अधिकारिहरूका अनुसार, यी कम्पनीमार्फत भएका कारोबारहरू सुन तस्करी र हुन्डी जस्ता आपराधिक वित्तीय क्रियाकलापसँग जोडिएको समेत देखिएको छ। यस विषयमा कम्पनीका सञ्चालक र प्रतिनिधिहरू प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
पेवेल नेपाल प्रालिले २०७७ साल असोज ११ गते राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको थियो भने सजिलो पे पेमेन्ट सर्भिसेसले २०७७ साल चैत १७ गते अनुमति लिएको थियो। यी कम्पनीहरू सुरुवातदेखि नै डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने दाबी गर्दै आएका थिए।
राष्ट्र बैंकका अनुसार यी कम्पनीहरूले भुक्तानी प्रणाली निर्देशिका २०८१, फर्छ्यौट विनियमावली २०७७ तथा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ का प्रावधानहरू उल्लंघन गरेका थिए। यस घटनापछि राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायकहरूको निगरानी अझ कडा बनाइने जनाएको छ।