नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को आर्थिक वर्ष २०८०/८१ को १३औं वार्षिक साधारण सभा पुस २८ गते काठमाडौँमा सम्पन्न भयो। सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, र नगद प्रवाह विवरण स्वीकृत गर्दै, १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो।
यस निर्णयसँगै, एनसीएचएलको चुक्तापूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० पुगेको छ। साथै, सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्दै २ अर्ब २५ करोड पुर्याउने प्रस्ताव पनि स्वीकृत गर्यो। पूँजी वृद्धिबाट कम्पनीले नेशनल पेमेन्ट स्वीच, राष्ट्रिय तथा अन्तरदेशीय कारोबारका लागि थप भुक्तानी प्रणाली विकास, जोखिम व्यवस्थापन सुदृढीकरण, र सञ्चालित पूर्वाधारको स्तरोन्नति गर्न लगानी गर्ने योजना बनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा एनसीएचएलबाट फर्छ्यौट भएका कारोबारको संख्या ५४ प्रतिशतले वृद्धि हुँदा कम्पनीको खुद नाफा ६.२ प्रतिशतले बढेको छ। यो वर्ष, एनसीएचएलका भुक्तानी प्रणालीमार्फत कुल १५६ खर्ब बराबरका १२.६ करोड भुक्तानी कारोबार सम्पन्न भएका थिए।
साधारण सभाले कम्पनीको सञ्चालक समितिमा ३ जना सञ्चालकहरूलाई पुनः निर्विरोध निर्वाचित गर्यो। वाणिज्य बैंकका प्रतिनिधिका रूपमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनःनिर्वाचित भएका हुन्। एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका १ जना, वाणिज्य बैंकका ३ जना, विकास बैंक र फाइनान्स कम्पनीबाट १–१ जना तथा स्वतन्त्र रूपमा १ जना सदस्य रहेका छन्।
एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व छ।




