हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा पुस २९ गते पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि नियमनकारी निकायबाट संशोधन गर्न प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफा रकमभन्दा बढी रकम ऋण लिन आवश्यक भएमा सो का लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछन् ।
यस्तै सभामा गत आवको वित्तीय विवरण र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरिसकेको छ ।