युरोपमा ब्याजदर बढाएर हालसम्मकै उच्च बिन्दुमा पुर्याइएको छ।
युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले बिहीबार ब्याजदर फेरि बढाउदै ४ प्रतिशत पुर्याएपछी यसले ईतिहास रचेको हो। यो ब्याजदर सन् १९९९ मा युरो करेन्सी लन्च गर्नुयताकै उच्च हो।
सन् २०२२ जुलाई २७ मा ईसीबीको निक्षेप ब्याजदर शून्य प्रतिशत थियो ।
सन् २०२२ सेप्टेम्बर १४ मा बढाएर ०.७५ प्रतिशत पुर्याइयो । नोभेम्बर २ मा १.५ प्रतिशत, डिसेम्बर २१ मा २ प्रतिशत, २०२३ फेब्रुअरी ८ मा २.५ प्रतिशत, मार्च २२ मा ३ प्रतिशत, मे १० मा ३.२५ प्रतिशत, जुन २१ मा ३.५ प्रतिशत र अगस्ट २ मा ३.७५ प्रतिशत पुर्याइएको थियो ।
ईसीबीले लगातार १० वटा बैठकमा निरन्तर छलफल गरेर ब्याजदर बढाउने निर्णयमा पुगिएको बताएको छ । बैंकले ब्याजदर बढाउनुको कारण उल्लेख गर्दै भनेको छ , “बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने मुख्य उदेस्य सहीत यो निर्णय गरिएको हो । यो निर्णयले महँगीलाई निर्धारित लक्ष्यभित्रै नियन्त्रण लिन सकिने अपेक्षा गरिएको छ’।
अघिल्लो महिनासम्म युरो जोनका २० वटा मुलुकको वार्षिक मुद्रास्फीति विस्तारै घटिरहेको थियो। तर, जब यो ५.३ प्रतिशतको विन्दु स्थिर रह्यो तब ईसीबी ब्याजदर बढाउन बाध्य भएको हो। इन्धनको भाउ बढ्दा मुद्रास्फीति पनि बढ्न पुगेको हो। ईसीबीले मुद्रास्फीति २ प्रतिशतमा ल्याउने लक्ष्य राखेको थियो।
ईसीबी अध्यक्ष क्रिस्टिन लागार्डका अनुसार मुद्रास्फीतिको २ प्रतिशत लक्ष्य भेट्याउन ब्याजदर बढाइएको हो। ‘लामो समयदेखि मुद्रास्फीति उच्च छ र यो अझै उच्च स्तरमै छ’, उनले भनिन्, ‘मुद्रास्फीति विस्तारै घट्दैछ, हामी चाहन्छौँ यो मुद्रास्फीतिको घटाइले निरन्तरता पाओस्।’ –एजेन्सी