गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले पुस २१ गतेदेखि रु. १०० अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको हो।
कम्पनीले अनुमति पाएको २२ लाख ५० हजार कित्तामध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गरेको थियो। त्यसपछि ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता साधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ। साथै, लगानीकर्ताहरूले मेरो सेयर प्लेटफर्ममार्फत पनि आवेदन दिन सक्नेछन्।
कम्पनीले यस आईपीओको लागि केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी डबल माइनस’ रेटिङ प्राप्त गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड हो। यसअघि, कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो, जसको बाँडफाँड पुस ८ गते सम्पन्न भएको थियो।