8.8 C
Nepal
Friday, January 17, 2025

वारेन बफेटले दान दिए १६००० करोड

विश्वकै धनाढ्यमध्येमा गनिने तथा विश्वभरको सेयर बजारमा बादशाह उपनामले चिनिएका ९४ वर्षीय बफेटले यो वर्ष चारवटा च्यारिटी फाउण्डेसनलाई १.१ अर्ब अमेरिकी डलर अर्थात करिब १६००० करोड नेपाली रुपैयाँ बराबरको दान दिएका छन् ।

उनी विश्वकै टप १० अर्बपतिमा सूचीकृत अमेरिकी धनाढ्य हुन् । नोभेम्बर २५ मा उनले बफेट परिवारबाट सञ्चालित चार फाउण्डेसनलाई निकै ठूलो दान दिए । रिपोर्टअनुसार उनले १६ हजार करोड रुपैयाँभन्दा बढी मूल्यको वर्कसायर हाथ्वेको सेयर नै दान गरेका हुन् । यो कम्पनीको सेयर बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८.५६ अमेरिकी डलर बराबर रहेको छ ।

त्यस्तै एक नोट लेख्दै उनले आफ्नो निधनपछि अरबौंको सम्पत्तिको विषयमा र त्यसको उत्तराधिकारीको विषयमा समेत खुलासा गरेका अमेरिकी मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् । सेयरधनीलाई सम्बोधन गर्ने क्रममा उनले भनेका छन् कि वर्कशायर हाथ्वेको १६०० क्लास ए सेयर २४ लाख क्लास बी सेयरमा परिणत हुनेछ। र, यसलाई चारवटै पारिवारिक फाउण्डेसनको नाममा बाँडफाँड गरिनेछ ।

आफ्नी दिवंगत पत्नी सुसीको नाममा स्थापित सुसान थम्पसन बफेट फाउण्डेसनलाई १५ लाख कित्ता सेयर दिइनेछ । आफ्ना बच्चाहरुको नाममा खुलेका फाउण्डेसनलाई समेत उनले दानको घोषणा गरेका छन् । बफेटकी पत्नीको सन् २००४ मै निधन भइसकेको छ ।

बफेटले शेरवुड फाउण्डेसनलाई ३ लाख कित्ता, हाँवर्ड जी. फाउण्डेसनलाई पनि ३ लाख कित्ता र नोवो फाउण्डेसनलाई पनि ३ लाख कित्ता नै दान दिने घोषणा गरेका छन् ।

बफेटले दान दिएर बचेको आफ्नो ९९.५ प्रतिशत सम्पत्ति आफ्नो शेखपछि कसको नाउँमा जाने भन्ने विषय पनि खुलाएका छन् । उनले आफ्ना तीनै सन्तानप्रति भरोसा व्यक्त गर्दै आफ्नो निधनपछि वर्कशायरमा उनको सम्पत्ति तीनै सन्तान मिलेर सम्हाल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सो क्रममा वंशवादी सम्पत्तिबाट जोगिनका लागि आफ्नो विश्वास व्यक्त गर्दै भनेका छन् -‘मैले कहिले पनि वंश बनाउने र बच्चाहरुलाई अगाडि देखाएर सम्पत्ति कमाउने लालसा राखिँन । मैले कमाएको यति ठूलो सम्पत्ति प्रभावकारी ढंगले कसरी खर्च गरिन्छ भन्ने विषयमा म सधैं चिन्तित हुने गरेको छ । यसमा मेरा तीन बच्चाहरुले चुनौति स्वीकार गरेर सम्पत्तिको व्यवस्थापन प्रभावकारी ढंगले गर्लान् भन्ने विश्वास छ ।’

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार बफेटको नेटवर्थ १५० अर्ब डलर बराबर रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here