आज साउन ४ गतेदेखि माथिल्लो मैलुङ खोला जलविद्युतले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ।
स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १०० अंकित दरका कुल १० लाख कित्ता सेयर स्थानीयका लागि बिक्री खुला गरिएको छ।
स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अतिप्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई बिक्री खुला गरिएको छ। २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित रसुवाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ। यी क्षेत्रबाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीयका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्कासन गरिएको छ।
त्यस्तै सर्वसाधारणका लागि जारी गरिने १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।
यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।