20.6 C
Nepal
Thursday, September 19, 2024

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्वीकार्य हुँदैन : एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति बुधबार राष्ट्रियसभा बैठक सुरु हुनेबित्तिकै बिरोध जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखेका छन् ।

नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमार्फत भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्‍याए । ‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औं जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसको इसारामा हुन्छ ? सम्माननीय प्रधानमन्त्रीजीले त्यहाँ अभिव्यक्त गर्नुभएको छ । प्रितम सिंह राजनीतिमा पनि चासो राख्नु हुन्थ्यो । र, मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानुभयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनुभयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नुभयो । एउटा भारतीय नागरिक, यहाँ व्यापार, बिजनेस गर्ने हिसाबले बसेको नागरिकले यहाँ देशका नेताहरूसँग समन्वय गर्छ । र, भारतमा गएर दिल्लीमा पनि नेताहरूसँग समन्वय गर्छ र प्रधानमन्त्री बनाउँछ । यो हाम्रो देशका लागि शिर निहुँर्‍याउने विषय भएको छ‚’ उनले भने ।

प्रधानमन्त्री आफैंले यो कुरा अभिव्यक्त गर्दा आफूहरू लज्जित भएको उनले बताए । ‘हामीलाई लज्जाबोध भएको छ । हामी कुन देशका नागरिक हौं ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदाखेरि यो देशका सार्वभौमसत्ता सम्पन्न संसद्‌ले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ ? भन्ने कुरा आम नेपाली जनताले कौतुहलतापूर्वक सोचिरहेको छ । त्यसले गर्दा हाम्रो पार्टी नेकपा एमालेले यसलाई गम्भीर रुपमा लिएको छ‚’ नेता दाहालले भने‚ ‘यसरी कोही भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनुभएको छ । उहाँले राजीनामा दिनुपर्छ । उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन‚ हक छैन । जब उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्वीकार्य छैन ।’

देशको नियम‚ कानुनअनुसार प्रक्रियागत रुपमा प्रधानमन्त्री बन्नुपर्नेमा यो देखाउने कुरा मात्रै रहेछ भन्ने प्रधानमन्त्री आफैंले पुष्टि गरेको भन्दै उनले भने‚ ‘यहाँ गणितको कुरा त देखाउने कुरामात्रै रहेछ । त्यसकारण उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गर्नुपर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसैले प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म हामी यो बैठक अवरुद्ध गर्छौं ।’

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयंले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here